काठमाडौँ
नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयबारे नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्। उनले पार्टी नेतृत्वलाई विद्यार्थी आन्दोलनमाथि भएको भनिएको प्रहारप्रति संसदमा सशक्त रूपमा आवाज उठाउन पनि आग्रह गरेका छन्।
नेविसंघको स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै शेर्पाले सरकारको निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै चिन्ता व्यक्त गरेका छन्। तर पार्टी नेतृत्वले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक नगरेकोमा उनले असन्तुष्टि जनाएका छन्।
उनले विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै यसमाथि भइरहेको भनिएको हस्तक्षेपप्रति नेपाली कांग्रेसको मौनता उचित नभएको बताएका छन्। पार्टी नेतृत्वले तत्कालै स्पष्ट धारणा राखेर संसदमा यो विषय उठाउनुपर्ने उनको भनाइ छ।
शेर्पाले नेविसंघको १२औँ महाधिवेशन अघि बढाउन विधान आवश्यक रहेको उल्लेख गर्दै विधान उपलब्ध गराउन पनि पार्टी नेतृत्वसँग माग गरेका छन्। यदि विधान दिन नसकिने हो भने वर्तमान केन्द्रीय कार्यसमिति भङ्ग गरी नयाँ बाटो दिनुपर्ने उनको आग्रह छ।
उनले संगठनलाई सुदृढ गर्दै महाधिवेशन सम्पन्न गर्न आवश्यक वातावरण बनाउन पनि पार्टी नेतृत्वसँग अनुरोध गरेका छन्।