काठमाडौँ
नारायण प्रसाद दाहाल र नुमान कुर्तुल्मुस बीच इस्तानबुल मा शिष्टाचार भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन टर्की पुगेका राष्ट्रियसभा अध्यक्ष दाहालले टर्कीको संसद् ग्रान्ड नेशनल एसेम्बली का सभामुख कुर्तुल्मुससँग भेट गरेका हुन्।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो। अध्यक्ष दाहालले संसदीय अनुभव आदानप्रदान, भ्रमण तथा संसदीय मैत्री समूह गठनमार्फत द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।
नेपाल र टर्कीबीच करिब ६ दशकदेखि सौहार्दपूर्ण कूटनीतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा सहकार्य थप विस्तार गर्न नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे। उनले हाल टर्कीसँग सम्बन्धित कार्यका लागि नेपालीहरूले अन्य मुलुक धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै नेपालमै दूतावास स्थापना भए सहकार्यमा सहजता आउने विश्वास व्यक्त गरे। साथै, श्रम सम्झौताको आवश्यकता पनि उनले औँल्याए।
सो अवसरमा सभामुख कुर्तुल्मुसले नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन टर्की सकारात्मक रहेको बताए। उनले नेपालमा टर्किस दूतावास स्थापना गर्ने विषयमा सकारात्मक धारणा राख्दै शैक्षिक छात्रवृत्तिको कोटा बढाउने र दुई देशबीच व्यापार विस्तार गर्ने प्रतिबद्धता जनाए।
आगामी नोभेम्बरमा टर्कीमा आयोजना हुने COP-31 का सन्दर्भमा पनि उनले सहयोगको अपेक्षा व्यक्त गरेका थिए। त्यसको जवाफमा अध्यक्ष दाहालले उक्त सम्मेलनका लागि शुभकामना व्यक्त गर्दै नेपाल सकारात्मक रहेको बताए। भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।