काठमाडौँ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) का अवसरमा सम्पूर्ण आमाप्रति श्रद्धा र शुभकामना व्यक्त गरेकी छन्। उनले आमालाई त्याग, माया, सहनशीलता र निस्वार्थ सेवाको प्रतीकका रूपमा चित्रण गरेकी हुन्।
मन्त्री वादीले आमाले कुनै अपेक्षा र पारिश्रमिकबिना सन्तानको सुखका लागि जीवन समर्पण गर्ने गरेको उल्लेख गर्दै यसले मानवीय मूल्यको उच्चतम उदाहरण प्रस्तुत गर्ने बताइन्। उनले यस विशेष दिनले सबैलाई आमाप्रति कृतज्ञ बन्ने अवसर प्रदान गर्ने र आफ्नो जिम्मेवारी सम्झाउने प्रेरणा दिने धारणा राखिन्।
उनका अनुसार आमाले भोग्ने कठिनाइ र समर्पणलाई सम्मान गर्दै समाज र राष्ट्रका लागि सबैले इमानदारीपूर्वक योगदान दिन आवश्यक छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आमाहरूको सम्मान र हितका लागि लाग्नु आजको दिनको वास्तविक अर्थ हुने उनको भनाइ छ।
मन्त्री वादीले आमाको सम्मान, सुरक्षा र गरिमामय जीवन सुनिश्चित गर्न मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको बताइन्। उनले आमाहरू सम्मानित भए मात्र समाज सभ्य र राष्ट्र समृद्ध बन्ने विश्वास व्यक्त गर्दै सबैलाई आमाको गरिमालाई उच्च राख्न आह्वान गरेकी छन्।