काठमाडौँ
सडक सुरक्षा, सहरी सुरक्षा तथा सहरी व्यवस्थापनका विषयमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच समन्वय थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटघाटमा वर्तमान अवस्था र आवश्यकताबारे समीक्षा गर्दै नागरिकलाई प्रभावकारी सेवा दिने विषयमा सहकार्य बढाउने सहमति भएको हो।
भेटका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन तथा सहरलाई सडक मानवमुक्त बनाउने अभियानमा नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताइन्। उनले महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगले अझ सुदृढ बनाउँदै नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने परिवर्तन ल्याउने लक्ष्य रहेको उल्लेख गरिन्।
प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन नेपाल प्रहरी तयार रहेको बताए। उनले उपत्यका प्रहरी कार्यालयमार्फत समन्वय गर्ने र त्यसका लागि फोकल पर्सन तोकिएको जानकारी दिए। साथै, सचेतनामूलक कार्यक्रम, नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर कम जनशक्तिमा बढी प्रभावकारी नतिजा हासिल गर्ने प्रणाली विकास गर्न महानगरसँग सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
छलफलका क्रममा लागूऔषध दुरुपयोग नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत तथा ट्राफिक सुधार, रात्रि र बिहानी बस सेवाको सुरक्षा तथा ‘सडक मानवमुक्त काठमाडौँ’ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा समेत विचारविमर्श भएको थियो। कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।