काठमाडौँ।
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार हुने विश्वास व्यक्त गरेकी छन्। उनले विगतका निराशा र अवरोधलाई चिर्दै राष्ट्रिय जीवनलाई समुन्नत बनाउन नयाँ वर्षले प्रेरणा दिने कामना गरेकी छन्।
आफ्नो सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गरेकी छन्। उनले जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकता दिनु अहिलेको मुख्य आवश्यकता रहेको औँल्याएकी छन्।
साथै, उनले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत राजनीतिक दलहरूलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिएकी छन्। व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ सङ्कल्पसहित अघि बढ्न उनले सबैमा आह्वान गरेकी छन्।