काठमाडौँ
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेटर करण केसीलाई एक खेल प्रतिबन्ध र म्याच फी कटौती गर्ने निर्णय गरेको छ।
विवादित सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर क्यानले उक्त कारबाही गरेको हो। करणले हिजो फेसबुक पोस्टमा कमेन्ट गर्दै कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ भन्ने प्रश्न उठाएका थिए। उक्त टिप्पणीलाई क्यानले खेल भावना विपरीत ठहर गरेको छ।
क्यानका अनुसार खेलाडीको उक्त अभिव्यक्ति अनुशासनविपरीत भएकाले उनलाई एक खेलका लागि निलम्बन गर्नुका साथै म्याच फी पनि काटिएको हो।
प्रतिबन्धका कारण करण केसीले आजको खेल गुमाएका छन्। नेपाल पुलिस क्लबबाट खेल्दै आएका उनले आज मधेस प्रदेशविरुद्धको खेलमा सहभागिता जनाउन पाएनन्।