काठमाडौँ
हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने सरकारी निर्णयपछि स्वास्थ्य क्षेत्रमा यसको कार्यान्वयनलाई लिएर विवाद उत्पन्न भएको छ। नेपाल चिकित्सक संघले सरकारको निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा दिन माग गरेको छ।
सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित शनिबार–आइतबार दुई दिने बिदा लागू गर्ने निर्णय गरे पनिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। यसलाई चिकित्सकहरूले दोहोरो मापदण्ड भन्दै आपत्ति जनाएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता अर्थोपेडिक सर्जन डा. बद्री रिजालले चिकित्सकहरूलाई पनि हप्तामा दुई दिन बिदा सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनले चिकित्सकहरू उच्च ‘बर्नआउट’ जोखिममा रहेको उल्लेख गर्दै समान कार्यघण्टा र सुविधा आवश्यक रहेको बताए।
डा. रिजालले चिकित्सकहरू २४ घण्टा अन–कलमा रहनुपर्ने अवस्था रहेको र लामो कार्यघण्टाका कारण पारिवारिक जीवनसमेत प्रभावित भएको बताए। उनले राज्यले अतिरिक्त श्रमको उचित मूल्यांकन नगरेको आरोप लगाए।
उनका अनुसार श्रम ऐनले तोकेको ४० घण्टाको सट्टा चिकित्सकहरूले हप्तामा ८० घण्टाभन्दा बढी काम गर्नुपरेको छ, जसलाई उनले श्रम शोषणको रूपमा व्याख्या गरेका छन्।
उनले अस्पतालअनुसार फरक नियम हुँदा अन्योल बढेको भन्दै सरकारलाई सरोकारवालासँग तत्काल संवाद गर्न आग्रह गरेका छन्। सेवा प्रभावित नहुने गरी व्यवस्थापन गर्न सकिने भन्दै उनले ओपीडी समय समायोजन गरेर आइतबार बिदा दिन सकिने सुझाव दिएका छन्।
डा. रिजालले माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन्। उनले विशेषज्ञ चिकित्सकलाई आवश्यक पूर्वाधार नभएका स्थानमा खटाउनु सीपको दुरुपयोग हुने भन्दै सरकारको ‘काज फिर्ता’ निर्णयप्रति पनि असन्तुष्टि जनाएका छन्।