काठमाडौँ
रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको आर्थिक इन्जिनका रूपमा हेर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्र सुदृढ भए मात्र समग्र अर्थतन्त्र बलियो बन्ने उल्लेख गरे।
उनले कोभिड–१९ महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र आर्थिक व्यवस्थापनमा देखिएका कमजोरीले अर्थतन्त्रमा गम्भीर असर पारेको बताए। यस्तो चुनौतीपूर्ण अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणमा नेपाल चेम्बर अफ कमर्सले खेलेको भूमिकाको प्रशंसा गरे। साथै, नीति निर्माण र अर्थतन्त्रका समस्या समाधानमा निजी क्षेत्रबाट आउने व्यावहारिक सुझाव महत्वपूर्ण हुने उनको भनाइ थियो।
युवा पलायन रोक्न स्वदेशमै पर्याप्त अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले उद्यमशीलता, प्रविधि र सिर्जनशीलतामार्फत युवालाई आर्थिक गतिविधिमा जोड्नुपर्ने बताए। डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले राजनीतिक स्थिरतालाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनामा गति दिने उल्लेख गरे। सुशासनमार्फत जनताको जीवनस्तर उकास्न सरकार र संसद्को महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न सुझाव दिए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले व्यापार, उद्योग र समग्र आर्थिक क्रियाकलापको विकास नै समृद्धिको आधार भएको बताए। साथै, स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।