काठमाडौँ
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी भएको प्रचारलाई भ्रामक र झुटा भएको बताएका छन् ।
देउवाले बुधबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्नो सम्पत्ति विवरण कानुनअनुसार सम्बन्धित निकायमा पेस गरिएको स्पष्ट पारेका छन्। उनले आफ्नो र परिवारबारे फैलाइएका आरोपहरूमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
स्वास्थ्य उपचारका लागि हाल विदेशमा रहेका देउवाले लोकतान्त्रिक शासन, विधिको शासन, पारदर्शिता र स्वतन्त्र संस्थाहरूको सुदृढीकरणका लागि आफूले लामो समयदेखि योगदान दिँदै आएको उल्लेख गरेका छन्। उनले आफ्नो जीवनलाई “खुला पुस्तक” जस्तै भएको टिप्पणी पनि गरेका छन् ।
देउवाले २०४८ सालमा गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन निर्माणमा र आफ्नो प्रधानमन्त्रीकालमा भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा आफूले भूमिका खेलेको स्मरण गराएका छन् ।
हाल सरकारले देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रक्रिया अघि बढाएको चर्चा चलिरहँदा उनले त्यसलाई आधारहीन प्रचार भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनले वास्तविकता समयक्रमसँगै स्पष्ट हुने दाबी गरेका छन् ।