काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ।
विशेष अदालतले आरोपितहरूलाई साधारण तारिख र न्यून धरौटीमा छाड्ने आदेश दिएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै अख्तियार उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च पुगेको हो।
विमानस्थल निर्माणका क्रममा लागत अस्वाभाविक रूपमा बढाएर करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बराबरको आर्थिक हानि पुर्याएको अभियोगमा अख्तियारले यसअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन पदाधिकारी र निर्माण कम्पनीबीच मिलेमतो गरी परियोजनाको लागत १६ करोड ९६ लाख अमेरिकी डलरबाट बढाएर २४ करोड ४० लाख डलर पुर्याइएको थियो।
विशेष अदालतले यस प्रकरणमा केही आरोपितलाई साधारण तारिखमा र केहीलाई न्यून धरौटीमा छाड्ने आदेश दिएको थियो। तर, अख्तियारले यस्तो निर्णयले प्रमाण नष्ट हुने तथा न्याय प्रक्रियामा असर पर्ने जोखिम रहेको दाबी गर्दै थुनामै राखेर अनुसन्धान अघि बढाउनुपर्ने माग गरेको छ।
आयोगले विशेष अदालत ऐन, २०५९ अनुसार प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिरसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको जनाएको छ।