काठमाडौँ
खड्गप्रसाद शर्मा ओली र रमेश लेखकलाई चैत २५ गतेभित्र थुनामुक्त गर्न सर्वोच्च अदालत ले परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो।
अदालतले काठमाडौँ जिल्ला अदालतबाट थपिएको ५ दिनको म्याद चैत २५ गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान प्रक्रिया पूरा गर्न वा म्याद सकिएलगत्तै उनीहरूलाई रिहा गर्न निर्देशन दिएको छ। अदालतले पक्राउ र म्याद थप प्रक्रिया कानुनसम्मत रहेको ठहर गरे पनि मानवीय तथा विशेष परिस्थितिका आधारमा थप समयसम्म हिरासतमा राखिरहनु आवश्यक नदेखिएको उल्लेख गरेको छ।
आदेशमा दुवै नेताको पारिवारिक र स्वास्थ्य अवस्थालाई विशेष रूपमा ध्यान दिइएको छ। उनीहरू दुवै आफ्ना माता–पिताको निधनपछिको आशौच (जुठो) बारिरहेका छन् भने केपी शर्मा ओली गम्भीर बिरामी भई शिक्षण अस्पतालमा उपचाररत रहेको उल्लेख गरिएको छ। साथै, सोही घटनामा पक्राउ परेका तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई यसअघि नै हाजिर जमानीमा रिहा गरिएको सन्दर्भमा ओली र लेखकलाई मात्र थुनामा राखिरहनु न्यायोचित नहुने अदालतको भनाइ छ।
अदालतका अनुसार मुख्य अनुसन्धान कार्य, विशेषगरी बयान लिने प्रक्रिया, प्रायः सम्पन्न भइसकेको देखिएकाले बाँकी प्रक्रिया हिरासत बाहिरबाटै अघि बढाउन सकिनेछ। त्यसअनुसार अब प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा रहने व्यवस्था गरी उनीहरूलाई रिहा गर्नुपर्नेछ।
उल्लेखनीय छ कि भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको धनजनको क्षतिसम्बन्धी घटनामा अनुसन्धानका लागि चैत १४ गते उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूको रिहाइको माग गर्दै पत्नीहरू राधिका शाक्य र यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।