काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

35
Share
Featured

काठमाडौँ

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उपत्यका ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सञ्चालन गरेको छ। पछिल्ला दिनहरूमा बढ्दो दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) र ट्राफिक नियम उल्लङ्घन रहेको निष्कर्षपछि यो विशेष अभियान सुरु गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रमुख नवराज अधिकारी आफैँ टोलीसहित सडकमा खटिने गरेका छन् भने कन्ट्रोल रुममार्फत नियम उल्लङ्घन गर्ने सवारीसाधनको निगरानी भइरहेको छ। बिहान सार्वजनिक सवारीसाधनका चालकलाई लक्षित गर्दै तथा दिउँसो र साँझ विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनलाई केन्द्रित गरेर चेकजाँच भइरहेको प्रहरीले जनाएको छ।

मुख्य चोक, व्यस्त सडक र दुर्घटना बढी हुने क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरी मापसे तथा लापसे परीक्षणसमेत भइरहेको छ। प्रहरी प्रमुख अधिकारीका अनुसार चालकले लापरबाही गर्दा दर्जनौँ यात्रुको ज्यान जोखिममा पर्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्ने अवस्था आएको हो।

अभियानअन्तर्गत हालसम्म दर्जनौँ चालक मापसे वा लापसे सेवन गरी सवारी चलाएको अवस्थामा कारबाहीमा परिसकेको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरूलाई जरिवाना गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

ट्राफिक प्रहरीले अबदेखि मापसे वा लापसे गरेर सवारी चलाउने, सडक डिभाइडरमा ठोक्किने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी पनि गरेको छ।

त्यसैगरी ट्राफिक लाइट उल्लङ्घन गर्ने, रातो बत्तीमा सवारी नरोकी चलाउने जस्ता नियम उल्लङ्घन गर्ने चालकहरूलाई पनि विशेष निगरानीमा राखेर कारबाही भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

यसैबीच, आज बिहान गरिएको सप्राइज चेकिङका क्रममा मापसे सेवन गरी सवारी चलाउने १२ जना चालकलाई कारबाही गरिएको छ। कारबाहीमा पर्नेमा भाडा बस, विद्यालय बस, मिनी ट्रक, सुमो, माइक्रो, टेम्पो, पर्यटक भ्यान तथा निजी कारका चालकहरू रहेका छन्।

ट्राफिक प्रहरीले यात्रु बोक्ने संवेदनशील सवारी चलाउने क्रममा मापसे वा लापसेको शङ्का लागेमा तत्काल नजिकको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रुममा जानकारी दिन सबैलाई आग्रह गरेको छ। अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...