काठमाडौँ
पोखरा महानगरपालिकाले फेवाताल किनारमा मापदण्डविपरीत निर्माण भएका बाँकी संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ। महानगरले शनिबार विज्ञप्ति जारी गर्दै बाँकी रहेका सबै अनधिकृत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा महानगरले यसअघि प्रहरीको सहयोगमा करिब ३० वटा अस्थायी संरचनामा डोजर चलाइसकेको छ। तालको सीमाङ्कन कार्य सम्पन्न भइसकेको भए पनि सर्वोच्चले तोकेको जल सतहको उच्चतम बिन्दुबाट ६५ मिटर भित्रको क्षेत्रमा रातारात संरचना निर्माण भएको पाइएपछि कारबाही अघि बढाइएको महानगरले जनाएको छ।
महानगरका अनुसार ६५ मिटर सीमाभित्र निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचना १५ दिनभित्र हटाउनुपर्नेछ। तोकिएको समयभित्र संरचना नहटाइएमा कानुनअनुसार महानगरले आफैँ हटाउने र त्यस क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी दिइएको छ।
यसअघि पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा फेवातालको जलसतहको उच्चतम बिन्दु पहिचान गरी तालको सीमाङ्कन कार्य सम्पन्न गरिएको थियो। साथै, ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण तथा मुआब्जा सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ।