काठमाडौँ
पूर्वउपप्रधानमन्त्री बाम देव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई खुलापत्र लेख्दै खड्गप्रसाद शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्री बनेकोमा बधाई दिँदै गौतमले ओलीमाथि गरिएको व्यवहार राजनीतिक तथा मानवीय दृष्टिकोणले अनुचित भएको टिप्पणी गरेका छन्।
गौतमले ७४ वर्षीय वृद्ध तथा शारीरिक रूपमा अस्वस्थ नेतालाई अपमानजनक ढंगले थुनामा राख्नु उचित नभएको उल्लेख गरेका छन्। उनले कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको शैली लोकतान्त्रिक अभ्यासविपरीत रहेको बताएका छन्। उनका अनुसार कुनै पनि व्यक्तिमाथि लागेको आरोप अदालतबाट प्रमाणित भएपछि मात्र कारबाही प्रक्रिया अगाडि बढ्नुपर्ने हुन्छ।
खुलापत्रमा उनले विगतका राजनीतिक घटनाक्रमसमेत स्मरण गराएका छन्। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आफूले समेत सुझाव दिएको उल्लेख गरेका छन्। त्यसपछिका प्रतिनिधिसभा विघटन, नयाँ राजनीतिक प्रक्रिया र निर्वाचनसम्मका घटनामा ओलीको सकारात्मक योगदान रहेको उनले बताएका छन्।
तर, हाल कुनै ठोस प्रमाण र कानुनी परीक्षणबिना घर घेराउ गरेर पक्राउ गर्नु गलत भएको गौतमको भनाइ छ। उनले कानुनी राज्यमा अनुसन्धान र छानबिनको निष्कर्षका आधारमा मात्र कारबाही हुनुपर्ने जिकिर गरेका छन्।
गौतमले सरकारलाई आफ्नो गल्ती सच्याउन आग्रह गर्दै वृद्ध तथा अस्वस्थ राजनीतिक व्यक्तित्वलाई अनावश्यक दुःख नदिन अपिल गरेका छन्। साथै, प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै न्यायपूर्ण र कानुनी प्रक्रियाअनुसार अघि बढ्न सुझाव दिएका छन्।