काठमाडौँ
सर्वोच्च अदालतले संवैधानिक इजलाससँग सम्बन्धित जानकारी उपलब्ध गराउन छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ। शुक्रबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले उक्त पोर्टलको औपचारिक उद्घाटन गरेकी हुन्।
नयाँ वेबपोर्टलमार्फत संवैधानिक इजलासका पेसी, आदेश, फैसला तथा अन्य कानुनी विवरणहरू सहज रूपमा प्राप्त गर्न सकिनेछ। साथै संवैधानिक इजलाससँग सम्बन्धित ऐन तथा कानुनसम्बन्धी जानकारी पनि पोर्टलमा समावेश गरिएको छ।
सर्वोच्च अदालतका अनुसार हाल संवैधानिक इजलासमा रहेका मुद्दाको छिटो र पारदर्शी व्यवस्थापन गर्न यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। हाल इजलासमा २८२ वटा मुद्दा बाँकी रहेका छन्। यसअघि दर्ता भएका ९१४ मुद्दामध्ये ६३८ वटा मुद्दा फछ्र्यौट भइसकेका छन्।
संवैधानिक इजलासमा कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा र शारङ्गा सुवेदी रहनेछन्।
सर्वोच्च अदालतले संवैधानिक रिटसम्बन्धी मुद्दाहरूलाई प्राथमिकतामा राखेर छिटो सुनुवाइ गर्ने लक्ष्य लिएको छ। साथै निर्वाचनसम्बन्धी विवादलाई ६ महिनाभित्र निरूपण गर्ने र ८ वर्षभन्दा पुराना मुद्दालाई प्राथमिकताका आधारमा टुंग्याउने योजना पनि अघि सारेको छ।