काठमाडौँ
कास्कीको लिची बगान घुस प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको सुनुवाइ सर्वोच्च अदालतमा स्थगित भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको थियो। तर, पूर्वमन्त्री गुप्ताका तर्फबाट कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो।
यसअघि विशेष अदालतले उक्त प्रकरणमा मुछिएका गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन्। त्यस्तै, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको मुद्दा पनि सँगै सुनुवाइका लागि लगाउमा राखिएको छ।
विशेष अदालतले श्रेष्ठ र अधिकारीलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ।
लिची बगान घुस प्रकरणमा तत्कालीन मन्त्री गुप्ताले घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। त्यस्तै, अख्तियारले गुप्ता र श्रेष्ठबीचको मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिएको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
गुप्ताले अदालतमा दिएको बयानमा आफूले घुस नलिएको र आरोप झुटो भएको दाबी गरेका छन्। यद्यपि विशेष अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष ठहर गर्न नसकिने निष्कर्ष निकालेको थियो।