काठमाडौँ।
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सडकमा अराजकता र विध्वंस नगर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि भइरहेको आन्दोलनलाई संयमित बनाउन र कानुनी बाटो रोज्न सुझाव दिएकी हुन्।
संयोजक बमले भदौ २३ र २४ गतेको घटनाले देशले ठूलो क्षति बेहोरिसकेको स्मरण गराउँदै अब त्यस्तो अवस्था दोहोरिन नहुने स्पष्ट पारिन्। "यदि तपाईंहरूलाई यो प्रक्रिया प्रतिशोध जस्तो लागेको छ भने कानुनी लडाइँ लड्नुहोस्, लोकतन्त्रमा सत्य प्रमाणित गर्ने ठाउँ अदालत हो," उनले भनेकी छन्।
सडक अवरोध गर्ने, सर्वसाधारणमाथि आक्रमण गर्ने र सवारी साधन जलाउने जस्ता कार्यले एमालेको नैतिक आधार कमजोर बनाउने उनको तर्क छ। उनले देशलाई राजनीतिक मुद्दाभन्दा माथि राख्न आग्रह गर्दै एमाले नेतृत्वलाई जिम्मेवार र लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न अपिल गरेकी छन्। "देशलाई अब सास फेर्ने समय दिनुहोस्," उनले एमाले नेतृत्वलाई सम्बोधन गर्दै लेखेकी छन्।