काठमाडौँ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई वैदेशिक शक्तिको ‘कठपुतली’ र ‘फासीवादी’ भएको आरोप लगाएको छ।
पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी गरिएको प्रेस वक्तव्यमा विदेशी सहयोगमा ‘जेनजी विद्रोह’ गराएर नेपालमा कठपुतली सरकार स्थापना गरिएको दाबी गरिएको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको निर्वाचनलाई ‘नाटक’को संज्ञा दिँदै उक्त निर्वाचन आफूहरूले बहिष्कार गरेको पनि उल्लेख गरिएको छ।
वक्तव्यमा पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको भन्दै सरकारको आलोचना गरिएको छ। उक्त कदमलाई पार्टीले ‘फासीवादी शैली’को उदाहरणका रूपमा व्याख्या गरेको छ।
यस्तै, पार्टीले सरकारको कदमलाई ‘ट्रम्प शैलीको नेपाली संस्करण’ भन्दै जनवर्गीय संगठन तथा ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने तयारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।