काठमाडौँ ।
गृहमन्त्री सुदन गुरुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी संगठनलाई थप शक्तिशाली र व्यावसायिक बनाउने प्रतिबद्धता जनाएका छन्। सम्बोधनका क्रममा उनले प्रहरी महानिरीक्षक (आईजीपी) लाई गृहसचिवले दज्र्यानी चिह्न लगाउने विद्यमान परम्परा हटाएर प्रधानमन्त्रीबाटै लगाउने व्यवस्थाका लागि आफूले पहल गर्ने बताए।
गृहमन्त्री गुरुङले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको सेवा-सुविधा वृद्धि गर्ने, पोषणयुक्त खाना उपलब्ध गराउने र दङ्गा नियन्त्रणमा पूर्ण गियरबिना फिल्डमा नखटाउने घोषणा गरे। उनले प्रहरीको सरुवा-बढुवामा राजनीतिक दबाब पूर्ण रूपमा अन्त्य गरी कार्यसम्पादन मूल्याङ्कनलाई मात्र आधार बनाइने स्पष्ट पारे।
साथै, प्रहरीको पोसाक नेपालमै उत्पादन गर्न ग्रामीण क्षेत्रमा उद्योग खोल्ने योजना सुनाउँदै उनले प्रहरी सवारी साधनलाई आवश्यकता अनुसार एम्बुलेन्सका रूपमा समेत प्रयोग गर्न निर्देशन दिए। उनले मुख्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, एआई सेल र संग्रहालयको समेत निरीक्षण गरेका थिए।