राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ

Author

सजिलो पत्रिका

२०८२ चैत ०६, शुक्रबार

25
Share
Featured

काठमाडौँ

राष्ट्रिय किताबखानाले एकीकृत ‘डिजिटल’ निवृत्तभरण (पेन्सन) सेवा सुरु गरेको छ । राष्ट्रिय किताबखानाले आज यहाँ औपचारिक कार्यक्रम आयोजना गरी निवृत्तभरणका सबै काम डिजिटल प्रणालीबाट हुने गरी सेवाको शुभारम्भ गरेको हो ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीले आफूले पाउने निवृत्तभरण, उपदानलगायतका सेवाका लागि राष्ट्रिय किताबखाना धाइरहनु पर्दैन ।

“राष्ट्रिय किताबखानाले आफ्नो मुख्य सेवालाई डिजिटल रुपान्तरणको माध्यमवाट विद्युतीय तहमा स्तरोन्नति गरेको छ, हाम्रो सबै सेवा सेवाग्राहीको भौतिक उपस्थितिविना नै हुन्छ,” महानिर्देशक पोखरेलले भन्नुभयो । उहाँका अनुसार प्रारम्भमा ७७ वटै जिल्लामा एकीकृत डिजिटल निवृत्तभरण सेवाका लागि सहजकर्ता निकायको भूमिका कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ । यसका लागि राष्ट्रिय किताबखानाले सञ्चालन गरिरहेको एकीकृत डिजिटल निवृत्तभरण प्रणालीको पहुँच जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । सेवाको गुणस्तरीयता र दिगोपना सुनिश्चित भएपछि कर्मचारी निवृत्त हुने सम्बन्धित सबै कार्यालयलाई उपलब्ध गराइने महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।

“राष्ट्रिय किताबखानाले प्रयोगमा ल्याएको यस प्रणालीमार्फत सम्बन्धित जिल्लावाट आवेदन दिन सकिने व्यवस्था छ, आवेदन दिने कर्मचारीको सम्बन्धित विवरण राष्ट्रिय किताबखानाको प्रणालीमा सिधै देखिने व्यवस्था मिलाइएको छ । किताबखानाले ‘अनलाइन’ प्रणालीमार्फत प्राप्त विवरण आफ्नो विवरणसँग प्रमाणीकरण गरी माग गरिएको सेवा स्वीकृत गर्दछ । स्वीकृत भएका सेवा अनलाइन प्रमाणीकरणमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनलाइन प्रणालीबाटै गएपछि सरोकारवाला कर्मचारीले जिल्लाबाटै सेवा पाउने अवस्था सुनिश्चित हुन्छ,” उहाँले भन्नुभयो ।

कुनै कार्यालय प्रमुखले आफ्नो कार्यालयबाट अवकाश वा राजीनामा स्वीकृत गराई निवृत्त हुन लागेका कर्मचारीलाइ कार्यालयवाटै डिजिटल माध्यमबाट निवृत्तभरण सेवा दिने सकारात्मक सोच राखी विभागलाई अनुरोध गरेमा मागमा आधारित रहेर प्रणालीको पहुँच उपलब्ध गराउन सकिने सुविधा रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय किताबखानाले आजदेखि सुरु गरेको यस प्रणालीमा निवृत्तभरण अधिकारपत्र, उपदान रकम निर्धारणको किटानीपत्र, सञ्चित घर बिदा तथा बिरामी बिदाबापत पाउने सुविधाको किटानीपत्र, औषधि उपचार सुविधाको किटानीपत्र, रोजेको बैङ्कमा सोझै निवृत्तभरण खाता खुल्ने सुविधा समावेश गरिएको जानकारी दिइएको छ । राष्ट्रिय किताबखानाले निकट भविष्यमा नै निवृत्तभरण अधिकारपत्र र निवृत्त कर्मचारी परिचयपत्रलाई नागरिक ‘एप’मार्फत देख्न र ‘प्रिन्ट’ सकिने सुविधा विस्तार गर्ने महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...