काठमाडौँ।
धनुषा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार यस मुद्दाको सुनुवाइ सकिएको हो।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेपछि उनले फागुन १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रोचक कुरा के छ भने, फागुन २१ गते भएको निर्वाचनमा धनुषा–१ मा रास्वपाको चुनाव चिह्न 'घण्टी' मा सबैभन्दा बढी मत खसेको थियो। तर, आयोगले साहको उम्मेदवारी खारेज भइसकेको भन्दै दोस्रो धेरै मत ल्याउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गरी प्रमाणपत्र दिइसकेको छ।
यसअघि सर्वोच्चले साहलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। शुक्रबारको सुनुवाइ सकिएसँगै अब अदालतले दिने फैसलाले यस क्षेत्रको चुनावी परिणाम र मातृका यादवको निर्वाचित पदमा कस्तो असर पार्छ भन्ने विषयमा सबैको चासो बढेको छ।