काठमाडौँ।
उत्तर कोरियाले इरानमा नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनी चयन भएको निर्णयको स्वागत गर्दै पूर्ण समर्थन जनाएको छ। उत्तर कोरियाली विदेश मन्त्रालयले इरानी जनतालाई आफ्नो सर्वोच्च नेता छनोट गर्ने पूर्ण अधिकार रहेको बताउँदै इरानको आन्तरिक निर्णयको सम्मान गर्ने स्पष्ट पारेको हो।
पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्युपछि उनका छोरा मोज्तबा नयाँ नेतृत्वमा आएका हुन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, प्योङयाङले नयाँ नेतृत्वलाई समर्थन गर्दै अमेरिका र इजरायलको कडा आलोचना गरेको छ। उत्तर कोरियाले अमेरिका र इजरायलले इरानमाथि 'अवैध सैन्य आक्रमण' गरेर क्षेत्रीय शान्ति र सुरक्षालाई जोखिममा पारेको र विश्वव्यापी अस्थिरता बढाएको आरोप लगाएको छ।
कुनै पनि देशको राजनीतिक प्रणाली र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने कार्य अस्वीकार्य रहेको भन्दै उत्तर कोरियाले इरानको सार्वभौमसत्ताको पक्षमा उभिने प्रतिबद्धता जनाएको छ। यो समर्थनले अमेरिका विरोधी मोर्चामा रहेका यी दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने देखिएको छ।