काठमाडौँ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उच्च कम्प्युटर पूर्वाधार खरिदका क्रममा भएको भनिएको १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ। केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जना कर्मचारी र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिविरुद्ध दायर मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट तथा न्यायाधीशद्वय हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६–७७ मा ३० करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको कम्प्युटर पूर्वाधारमा बोलपत्रको मापदण्डभन्दा कम क्षमताको प्रोसेसर जडान गरिएको थियो। प्रतिवादीहरूले आपूर्तिकर्ता कम्पनीसँग मिलेमतो गरी गुणस्तरहीन सामग्री स्वीकार गरेको र झुट्टा कागजातका आधारमा भुक्तानी दिएर राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको अभियोग छ। यस प्रकरणमा तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल लगायतका कर्मचारी र निजी कम्पनीका अध्यक्ष अरुण श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।