काठमाडौँ।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको नेतृत्व सुम्पिने जस्तो गम्भीर विषयमा आवेग र झोकको भरमा निर्णय नगर्न मतदाताहरूलाई आग्रह गरेका छन्। बुधबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावलाई युद्धको मैदान नठान्न र मर्यादित प्रतिस्पर्धामा जोड दिन सबैलाई आह्वान गरे।
शर्माले नयाँ शक्ति वा उम्मेदवारलाई 'जाँच्ने' नाममा गरिने निर्णयप्रति कटाक्ष गर्दै भने, "देश जिम्मा लगाउने कुरा भनेको तरकारीको स्वाद फेरेजस्तो होइन। चार दिन लौका खाइयो, अब घिरौँला खाउँ भनेजस्तो हल्का रूपमा चुनावलाई लिनु हुँदैन।" उनले रिस र बदलाको भावनाले भन्दा पनि मुलुकको भविष्य र गम्भीरता हेरेर मतदान गर्नुपर्नेमा जोड दिए।
साथै, उनले चुनावी अभियानका क्रममा विपक्षी दलहरूमाथि गालीगलौज नगर्न र सभ्य ढंगले आफ्ना एजेन्डा प्रस्तुत गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे। चुनावलाई युद्ध नभई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उनको भनाइ थियो।