काठमाडौँ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को घुँडाको उपचारका लागि २४ घण्टाभित्रै १ करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको छ। आवश्यक रकम संकलन भइसकेकाले साम्बाले आजैदेखि आफ्नो बैंक खातामा सहयोग रकम नपठाउन सबैमा अपिल गरेकी छन्।
साम्बाका अनुसार नेपाली बैंक खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ। यसका साथै विभिन्न संघ–संस्था र प्रायोजकहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्। "यो रकमले मेरो शल्यक्रिया मात्र होइन, कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात खर्च पनि पुग्ने देखिएको छ," उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
उनले आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि बीमा र थप सहयोगमार्फत उपचारमा सहजीकरण गरिरहेको बताएकी छन्। समर्थकहरूको अभूतपूर्व माया र साथले आफूलाई मानसिक रूपमा बलियो बनाएको उल्लेख गर्दै साम्बाले भनिन्, "पैसा र उपाधिभन्दा पनि तपाईंहरूको माया र भरोसा नै मेरो वास्तविक कमाइ हो। म अझ मजबुत भएर मैदानमा फर्कनेछु र पुनः देशका लागि खेल्नेछु।" अब छिट्टै शल्यक्रियाको मिति तय गरी उपचार प्रक्रिया अघि बढ्ने उनले विश्वास व्यक्त गरेकी छन्।