काठमाडौँ।
पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा आइतबार साँझ भएको युवा समूहबीचको झडपपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा आवतजावत, भेला, जुलुस र प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार अत्यावश्यक सेवा, सञ्चारकर्मी, परीक्षार्थी, पर्यटक र कूटनीतिक नियोगका सवारी साधनलाई भने सञ्चालन अनुमति दिइएको छ। हवाई यात्रुहरूलाई पनि टिकटका आधारमा सुरक्षाकर्मीले सहजीकरण गर्नेछन्।
अर्कोतर्फ, विवाहको बाजालाई लिएर भएको विवादपछि शनिबारदेखि रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु भने आजदेखि हटाइएको छ। नागरिक समाजको अगुवाइमा गौर–६ सबगढामा शान्ति सद्भाव र्याली निकालिएपछि जनजीवन सामान्य बनेको भन्दै प्रशासनले कर्फ्यु हटाउने निर्णय गरेको हो। र्यालीमा राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो, जसले गर्दा गौरको वातावरण अहिले शान्त बनेको छ।
