काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले मतदाताहरूलाई आफ्नो अमूल्य मत (शक्ति) हस्तान्तरण गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्। आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भोटलाई माछामासु, केही लिटर पेट्रोल वा थोरै पैसामा नसाट्न अपिल गरे।
"भोट भनेको शक्ति हो, यो शक्ति हस्तान्तरण गर्दा कसलाई दिँदैछु भन्ने कुरा हरेक मतदाताले हजारचोटि सोच्नुपर्छ," लिङदेनले भने। उनले विगतमा झुटो आश्वासन, नातागोता वा प्रलोभनमा परेर मतदान गर्ने प्रवृत्तिका कारण देशले निकास नपाएको टिप्पणी गरे।
आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्ड छानबिनमा आफ्नो सक्रिय भूमिका रहेको स्मरण गराए। लिङदेनले सत्ताधारी दलका नेताहरूले गल्ती नसच्याए देश दुर्घटनामा जाने चेतावनी दिँदै कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई समेत यसपटक राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गरेर देश बनाउने योजनामा साथ दिन आग्रह गरे।