काठमाडौँ।
आर्थिक संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरी स्वास्थ्य बीमा बोर्डलाई उपलब्ध गराएको छ। सेवा प्रदायक अस्पतालहरूलाई समयमै भुक्तानी गर्न नसक्दा कार्यक्रम नै बन्द हुने अवस्थामा पुगेपछि मन्त्रालयले २२ वटा कार्यक्रमको बजेट कटौती गरेर यो रकम जुटाएको हो।
बीमा बोर्डका अनुसार पुस मसान्तसम्म अस्पतालहरूलाई तिर्नुपर्ने दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ। अर्थ मन्त्रालयले माघ २३ गते उक्त रकमान्तर स्वीकृत गरेपछि रकम निकासा भएको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लले मन्त्रालयबाट प्राप्त रकम र बोर्डको आन्तरिक कोष गरी करिब १ अर्ब रुपैयाँ तत्काल अस्पतालहरूलाई वितरण गरिने जानकारी दिए।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि बीमा बोर्डका लागि आवश्यक बजेट ऋणमार्फत भए पनि व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएकी थिइन्। यो रकमले तत्कालका लागि केही राहत पुगे पनि ठूलो बक्यौता भुक्तानीका लागि सरकारले थप पहल गरिरहेको जनाएको छ।