काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो।
घोषणापत्रमा एमालेले विगतमा आफूले गरेका लोडसेडिङ अन्त्य र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जस्ता कामहरूको चर्चा गर्दै आगामी दिनका लागि ११ वटा तत्काल गर्ने काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भहरूलाई नीतिगत प्राथमिकतामा राखेको छ। विशेषगरी 'जेनजी' आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार र सर्वोच्च अदालत लगायतका राज्यका संरचनाहरूलाई निश्चित समयसीमाभित्रै पुनर्निर्माण गर्ने प्रतिबद्धता एमालेले जनाएको छ।
एमालेले यस निर्वाचनलाई 'पुस्तान्तरण' को मुद्दाभन्दा पनि 'देश बनाउने र भत्काउने' शक्तिहरू बीचको जनमत–संग्रहका रूपमा चित्रण गरेको छ। घोषणापत्रमा भनिएको छ, "यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो।" एमालेले मुलुकको स्वाभिमान रक्षा र समृद्धिका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबी समेत गरेको छ।