काठमाडौँ।
दशकौँदेखि अमेरिकी प्रतिबन्ध खेपिरहेको कम्युनिस्ट मुलुक क्युबा अहिले इतिहासकै गम्भीर आर्थिक संकटमा फसेको छ। इन्धनको चरम अभाव, खाद्य संकट र पर्यटन क्षेत्रमा आएको गिरावटका कारण त्यहाँको दैनिक जनजीवन लगभग ठप्प भएको सीएनएनले जनाएको छ।
राजधानी हाभानालगायतका सहरहरूमा इन्धनका लागि लामो लाइन लाग्ने गरेको छ भने पेट्रोल पम्पहरू बन्दजस्तै छन्। इन्धन अभावले विद्युत उत्पादन घट्दा दैनिक घण्टौँ लोडसेडिङ भइरहेको छ, जसका कारण सरकारले विद्यालय, कार्यालय र उद्योगहरूको समय घटाउन बाध्य भएको छ। सार्वजनिक यातायात र उद्योगहरू सञ्चालन हुन नसक्दा अर्थतन्त्र थप कमजोर बनेको छ।
खाद्य आपूर्ति शृंखला कमजोर हुँदा दूध, रोटी र अण्डाजस्ता आधारभूत सामग्रीको अभाव देखिएको छ भने बजारमा महँगी अत्यधिक बढेको छ। क्युबाको मुख्य आयस्रोत मानिने पर्यटन क्षेत्र पनि अमेरिकी वित्तीय प्रतिबन्धका कारण धराशायी बनेको छ। क्युबा सरकारले यसलाई अमेरिकाको "आर्थिक घेराबन्दी" भनेको छ। आर्थिक अवस्था बिग्रँदै गएपछि हजारौँ क्युबाली नागरिकहरू सुरक्षित भविष्यको खोजीमा देश छोडेर पलायन भइरहेका छन्।