काठमाडौँ।
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी फागुन १७ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेको हो।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति फागुन २२ गतेसम्म तोकिएको छ भने माग बमोजिम आवेदन नपरेमा बिक्री अवधि चैत १ गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले यस कम्पनीलाई 'डबल बी' रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। लगानीकर्ताले सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।