काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार खड्गप्रसाद शर्मा ओलीले आज आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दैछन्। झापाको दमक–९ स्थित अमरसिंह चोकमा दिउँसो ३ बजे आयोजना हुने एक कार्यक्रमका बीच उनले उक्त प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाको इतिहास, एमाले नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरू र विगतमा सुरु गरिएका तर सम्पन्न हुन बाँकी रहेका योजनाहरूको विस्तृत विवरण समेटिएको छ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्नुअघि अध्यक्ष ओलीले आजै दमक–३ स्थित दुम्से र टुकुरे क्षेत्रमा चुनावी प्रचारप्रसार तथा मतदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ। निर्वाचन नजिकिँदै गर्दा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन्।