काठमाडौँ।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै नयाँ फैसला सुनाएको छ। आइतबार राति सार्वजनिक फैसलाअनुसार मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय सुनाइएको छ। यसअघि उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) को सजाय भइसकेको छ।
न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले जिल्ला अदालतबाट जन्मकैद पाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको सजाय घटाएर १०–१० वर्ष तोकेको छ। यस्तै, मदन सिलवाललाई ३ वर्ष कैद सजाय सुनाइएको छ भने लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्ला अदालतकै जन्मकैदको फैसला सदर भएको छ।
अदालतले संगठित अपराध र भन्सार चोरी निकासी मुद्दामा भने दाबी नपुग्ने ठहर गर्दै जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ। यससँगै पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपीहरू दिवेश लोहनी र श्यामबहादुर खत्रीसहितका उच्च प्रहरी अधिकारीहरूले पाएको सफाइलाई उच्च अदालतले पनि सदर गरिदिएको छ।
२०७४ सालमा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि सुरु भएको यो प्रकरणमा सनम शाक्यको हत्या भएको थियो। अनुसन्धानले करिब ३८ क्विन्टल सुन तस्करी भएको देखाए पनि हराएको भनिएको ३३ किलो सुन भने हालसम्म फेला परेको छैन।