काठमाडौँ।
नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले इरानमा प्रदर्शनरत जनताको विजय हुने बताएकी छन् ।
उनले इरानी जनता र युवाले प्रदर्शन गरिरहेको शाहस राज्यले गरिरहेको दमनभन्दा शक्तिशाली रहेको भन्दै इरानी जनताले हार नमान्ने बताइन् । नेपालमा गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबारेका खबर समेत ध्यानपूर्वक हेरेको बताएकी उनले त्यो आन्दोलनप्रति सम्मान व्यक्त गरेकी छन् ।
केही औपचारिक कार्यक्रमका लागि नेपाल आएकी उनले इरानी जनता चार दशकभन्दा लामो समयदेखि सत्ताविरुद्ध बारम्बार सडकमा उत्रिएको बताइन् । तर, हरेक पटक शासनले दमन, जेल, हिंसा र मृत्युदण्डद्वारा जवाफ दिएको उनको तर्क छ ।
उनले एक महिनाअघि आफ्नो देशमा अशान्ति भएको स्मरण गराउँदै धेरै युवाहरू सडकमा उत्रिए र धेरैलाई सरकारले मारेको बताईन् । सन् १९७९ को क्रान्तिले आफ्नो देशमा निरंकुश धार्मिक शासन स्थापना गरेको आफुहरु कठोर धार्मिक नियमअन्तर्गत बाँचिरहेको उनले बताएकी छन् । ती सजायहरू शताब्दी पुराना रहेको टिप्पणी उनले गरेकी छन् ।