मेरो प्रतिस्पर्धा व्यक्ति होइन, क्षेत्रका समस्या हुन् : खड्ग फागो

Author

सजिलो पत्रिका

२०८२ माघ २४, शनिबार

25
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग बहादुर फागोले राजनीतिलाई सत्ता प्राप्तिको दौडभन्दा माथि उठेर जनजीवनसँग प्रत्यक्ष जोडिएको सेवा र जिम्मेवारीको विषयका रूपमा परिभाषित गरेका छन् ।

चुनावी प्रतिस्पर्धालाई व्यक्ति वा दल केन्द्रित बहसमा सीमित गर्नुको सट्टा यस क्षेत्रले भोग्दै आएका संरचनागत समस्या र विकासका अधुरा पूर्वाधारसँग जोड्नुपर्ने उनको धारणा छ ।

‘मेरो प्रतिस्पर्धा भनेको नै यस क्षेत्रको समस्या हो, विकासका पूर्वाधारको काम हो,’ फागोले चुनावी भेटघाटका क्रममा मिक्लाजुङ स्थित रमितेमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने । उनका अनुसार मोरङ–१ का नागरिकले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र शहरी व्यवस्थापनजस्ता आधारभूत विषयमा अझै पनि स्पष्ट समाधानको अपेक्षा गरिरहेका छन्।

फागोले मोरङ–१ लाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा सन्तुलित विकासको मोडेल बनाउन सकिने सम्भावना रहेको उल्लेख गरे । तर त्यसका लागि योजना कार्यान्वयन र दीर्घकालीन सोच आवश्यक हुने उनको भनाइ छ । ‘विकास सडक र भवनले मात्र नापिँदैन, नागरिकको जीवनस्तर कति सहज भयो भन्ने कुराले नापिन्छ,’उनले भने।

पूर्व जनप्रतिनिधिको अनुभवले आफूलाई व्यवहारिक राजनीति गर्न सिकाएको फागोको भनाइ छ। नीति निर्माण कागजमा आकर्षक देखिए पनि कार्यान्वयनको चुनौती स्थानीय तहमा काम गर्दा प्रत्यक्ष अनुभूति गरेको उनले बताए। त्यसैले अबको राजनीति भाषणमुखी होइन, नतिजामुखी हुनुपर्ने उनको जोड छ।

उनले युवाको वैदेशिक पलायनलाई क्षेत्रको गम्भीर समस्याका रूपमा उल्लेख गर्दै स्थानीय तहमा रोजगारी सिर्जना गर्न नसकेसम्म विकासको अर्थ नहुने बताए । कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै उत्पादन र बजारको सुनिश्चितता गर्न सके युवालाई गाउँमै रोक्न सकिने उनको तर्क छ।

स्वास्थ्य र शिक्षाको सवालमा फागोले पहुँच मात्र होइन, गुणस्तर मुख्य चुनौती भएको औँल्याए । ‘अस्पताल भए पनि सेवा नपाउने, विद्यालय भए पनि गुणस्तरीय शिक्षा नपाउने अवस्था अन्त्य हुनुपर्छ,’ उनले बताए ।

राजनीतिक संस्कारबारे बोल्दै फागोले असहिष्णुता र गुटबन्दीले विकासको गतिलाई अवरुद्ध बनाउने बताए । व्यक्तिगत प्रतिस्पर्धाभन्दा साझा लक्ष्यमा केन्द्रित हुन सके मात्र जनताको विश्वास जित्न सकिने उनको भनाइ छ।

नेपाली कांग्रेस अहिले संगठनात्मक पुनर्संरचनाको चरणमा रहेको उल्लेख गर्दै उनले यसले कार्यकर्तामा नयाँ ऊर्जा थपेको दाबी गरे।

यो समाचारमा

खड्ग बहादुर फागोमोरङनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...