काठमाडौँ।
नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले मुलुकको आर्थिक सुधार र समृद्धिका लागि १५ बुँदे अवधारणा सार्वजनिक गरेका छन्। भिडियो वक्तव्यमार्फत उनले नेपालको अर्थतन्त्रलाई वितरणमुखी र परनिर्भरताबाट मुक्त गरी उत्पादनमुखी, आत्मनिर्भर र ज्ञानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।
पौडेलले 'अपरेटिङ सिस्टम' नै फेरेर बौद्धिक पुँजीको निर्यात, डिजिटल अर्थतन्त्रको कानुनी मान्यता र स्टार्टअपहरूलाई प्रोत्साहन गर्नुपर्ने प्रस्ताव गरेका छन्। लगानीका बाधक ऐनहरू हटाउन 'सर्वोच्च छाता ऐन' र व्यावसायिक विवाद सुल्झाउन 'विशेष न्यायाधिकरण'को आवश्यकता उनले औंल्याएका छन्।
२१औँ शताब्दीको लोकतान्त्रिक समाजवादको व्याख्या गर्दै उनले शिक्षा र स्वास्थ्यमा समान पहुँच तर आर्थिक प्रगतिमा स्वस्थ प्रतिस्पर्धाको वकालत गरे।
साथै, नेपाली दूतावासहरूलाई 'व्यापार प्रवर्द्धन केन्द्र' बनाउनुपर्ने र विदेशमा रहेका नेपालीको सीपलाई 'ब्रन गेन' (Brain Gain) मार्फत राष्ट्र निर्माणमा जोड्नुपर्ने उनको तर्क छ। राज्यको भूमिका उत्पादक नभई निष्पक्ष सहजकर्ता हुनुपर्ने पौडेलको धारणा छ।