काठमाडौँ ।
मौसममा आएको अचानक परिवर्तनसँगै गएरातिदेखि रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, रुकुम पूर्व र बागलुङको सिमानामा पर्ने पाथीहाल्ने क्षेत्रमा सडकमा हिउँ जमेकाले यातायात पूर्ण रूपमा ठप्प भएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवले पाथीहाल्ने आसपासमा करिब एक दर्जन सवारी साधन रोकिएको र यात्रुहरूलाई सुरक्षित स्थानतर्फ जान सहजीकरण भइरहेको जानकारी दिए ।
सडक खुलाउन भूमे गाउँपालिकाको जेसीबी मेसिन तयारी अवस्थामा राखिएको छ । हिउँ केही पग्लिएपछि सडक सफा गर्ने प्रयास गरिने प्रहरीले जनाएको छ ।
हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनाएको छ भने चिसो अत्यधिक बढेको छ । यद्यपि, किसानहरूले यो हिमपात हिउँदे बालीका लागि लाभदायक हुने बताएका छन् । मौसममा क्रमशः सुधार देखिन थालेकाले जनजीवन चाँडै सहज हुने अपेक्षा गरिएको छ ।