सुर्खेत । मुगुको
कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली
जलविद्युत आयोजनाको प्रारम्भिक काम सुरु भएको छ ।
अर्धजलाशय प्रकृतिको
सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो
आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा
आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो ।
आयोजनाको वातावरणीय
प्रभाव मूल्यांकन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि
सार्वजनिक सूचना प्रकाशित गरिएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट
घण्टा ऊर्जा उत्पादन हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले
सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता टुंगो
लाग्ने बताए ।
आयोजनास्थलमा
प्रारम्भिक काम सम्पन्न भइसकेको छ । यस्तै, डिजाइन र हेडवक्र्सको अध्ययन हाइड्रोल्याबमा भइरहेको कम्पनीले जनाएको छ ।
विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ ।
उत्पादित विद्युत ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट
हब सबस्टेशनमा जोडिनेछ । कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत
उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
विद्युत विकास
विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन प्रतिवेदनका
आधारमा सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाको कुल लागत ५५ अर्ब ३३ करोडबराबर
रहनेछ ।