ढिलाइ र लागत वृद्धिको उदाहरण बनेको कान्ति लोकपथ, अझै ३ वर्ष कुर्नुपर्ने

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

24
Share
Featured
  • काठमाडौं–हेटौँडा जोड्ने ७९ किमी लामो कान्ति लोकपथ २०१३ सालमा सुरु भएर सात दशक बित्दा पनि करिब ७५% मात्र सम्पन्न भएको छ, जसले दीर्घकालीन र ढिलासुस्तीग्रस्त पूर्वाधार आयोजनाको उदाहरण बनेको छ।
  • बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद्, सडक सीमा विवाद, कालोपत्र बाँकी खण्ड, पुल निर्माण ढिलाइ र कानुनी जटिलताका कारण आयोजना पटक–पटक पछाडि धकेलिएको छ; २०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • लागत अनुमान ६ अर्बबाट बढेर ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, तर आयोजना सम्पन्न भएमा हालको २२२ किमी मार्गको सट्टा ७९ किमीमै हेटौँडा–काठमाडौं यात्रा सम्भव भई समय, इन्धन र जोखिम उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडालाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा चिनिएको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि अधुरै छ । २०१३ सालमा सुरु भएको आयोजना अझै पूर्ण हुन नसक्दा यसलाई नेपालका दीर्घकालीन र ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा लिन थालिएको छ ।

७९ किलोमिटर लामो कान्ति लोकपथ हालसम्म करिब ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । आयोजना सुरु हुँदाको पुस्ता अवकाश उमेरमा पुग्दा पनि सडक निर्माण नसकिँदा राज्यको योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठेको छ।

कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् र संरचनागत समस्याका कारण आयोजना पटक–पटक पछाडि धकेलिएको बताए । उनका अनुसार हालको लक्ष्यअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने योजना छ।

हाल सडकको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन बाँकी छ। ती क्षेत्रमा एक लेन मात्र सडक रहेको र चट्टान काटेर दुई लेन विस्तार गर्नुपर्ने भएकाले काम जटिल बनेको आयोजनाले जनाएको छ। साथै, सडक सीमा निर्धारण नहुँदा घरटहरा, रुख, विद्युत् खम्बा, खानेपानी र ढलका संरचना सडक क्षेत्रमै परेका छन्। ढुङ्गा–बालुवा उत्खननसम्बन्धी कानुनी जटिलताले पनि काम प्रभावित भएको छ।

आयोजनाअन्तर्गत बागमती नदीमा निर्माणाधीन दुई लेनको पुल पनि समयमै सम्पन्न नहुने देखिएको छ। ९० मिटर लामो उक्त पुल १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ। हाल पाइलिङ र जग हाल्ने काम भइरहेको भए पनि चालु आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तभित्र सम्पन्न हुन नसक्ने आयोजनाले स्पष्ट पारेको छ।

कान्ति लोकपथको शून्य किलोमिटर काठमाडौँतर्फ ललितपुरको टीकाभैरव र हेटौँडातर्फ बुद्धचोक निर्धारण गरिएको छ। यसमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर सडक खण्ड पर्छ। चालु आर्थिक वर्षदेखि टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरिएको छ।

चालु आर्थिक वर्षमा आयोजनाका लागि ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको छ। सुरुमा छ अर्ब रुपैयाँ अनुमान गरिएको लागत संशोधन हुँदै हाल आठ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जसले आयोजनाको लागत व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ।

यद्यपि कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएमा तराई–काठमाडौँ आवागमनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ। हाल प्रयोग हुँदै आएको हेटौँडा–नारायणगढ–मुग्लिङ–नागढुङ्गा मार्ग (२२२ किलोमिटर) को सट्टा ७९ किलोमिटरमै हेटौँडाबाट काठमाडौँ पुग्न सकिनेछ। यसले दूरी १३२ किलोमिटर घटाउने, समय र इन्धन बचत गर्ने तथा यात्राको जोखिम कम गर्ने विश्वास गरिएको छ।

यो समाचारमा

हेटौंडाकाठमाडौँबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...