काठमाडौँ ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६, भदौरेमा एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ । ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी हत्या गरिएको प्रारम्भिक अनुमान छ । घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
एक महिनाअघि मात्रै सोही वडामा अर्का वृद्ध दम्पती शोभितमान र रत्नमाया थापा मगरको पनि लुटपाटपछि हत्या भएको थियो । उक्त घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पक्राउ परेको गिरोहले नै असोजमा सिद्धिचरण नगरपालिकामा एक महिलाको हत्या गरी गरगहना लुटेको खुलेको थियो । एउटै प्रकृतिका श्रृंखलाबद्ध हत्याका घटनाले भदौरे क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् र उनीहरूले तत्काल दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन् ।