काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले अफगानिस्तान युद्धमा नाटोका सहयोगी देशका सेना अग्रपङ्क्तिमा नलडेकाे दाबी गरेपछि युनाइटेड किंगडम सरकार र विभिन्न नेताहरूले ती टिप्पणीलाई गलत र अपमानजनक भनेका छन्। डाउनिङ स्ट्रिटका प्रवक्ताले ट्रम्पले बेलायती र अन्य नेटो सैनिकको भूमिकालाई होच्याएको भन्दै अस्वीकार गरेका हुन्। ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा नेटोले केही सेना पठाए पनि “अग्रपङ्क्तिबाट टाढै बसेको” दाबी गरेका थिए।
बेलायतले ९/११ आक्रमणपछि नेटोको सामूहिक सुरक्षा धारा (आर्टिकल ५) सक्रिय हुँदा अमेरिकाको समर्थनमा अफगानिस्तान युद्धमा भाग लिएको थियो। करिब २० वर्ष लामो युद्धमा ४५७ बेलायती सैनिक मारिए, जसको ठूलो हिस्सा तालिबानको गढ मानिने हेलमन्द प्रान्तमा भएको थियो। बेलायती सेनासँगै क्यानडा, डेनमार्क र इस्टोनियाका सैनिकहरू पनि सबैभन्दा खतरनाक क्षेत्रमा खटिएका थिए र उनीहरूले ठूलो क्षति बेहोरेका थिए।
ट्रम्पका भनाइप्रति युद्धका पूर्वसैनिक र पीडित परिवारले कडा प्रतिक्रिया दिएका छन्। अंगभंग भएका पूर्वसैनिक एन्डी रिडले टिप्पणीलाई “अत्यन्तै अपमानजनक” भनेका छन् भने गम्भीर घाइते सैनिक बेन पार्किन्सनकी आमाले यसलाई “अन्तिम अपमान”को संज्ञा दिएकी छन्। बेलायती रक्षा मन्त्री र सत्तारुढ तथा विपक्षी दलका नेताहरूले पनि ट्रम्पका भनाइको आलोचना गर्दै अफगानिस्तानमा ज्यान गुमाएका सैनिकलाई नायकका रूपमा स्मरण गर्नुपर्ने बताएका छन्।
ट्रम्पले दोस्रो कार्यकालमा पनि नेटोमाथि पटक–पटक आलोचना गर्दै सदस्य राष्ट्रहरूले रक्षा खर्च पर्याप्त नगरेको आरोप लगाउँदै आएका छन्। यद्यपि बेलायत र अन्य सहयोगी देशका नेताहरूले अफगानिस्तान युद्धमा नेटो राष्ट्रहरूले संयुक्त राज्य अमेरिकाको आह्वानमा बलिदान दिएको र त्यसलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।