नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।
विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा डिला संग्रौला) जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा संगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।’ जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रीत रहेको कोइरालाले बताए ।
उनले भने, ‘सांसद रहँदा संसद भ्रष्टाचारको विरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहें। संसद भित्र र बाहिर लडिरहें ।’ छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको बताए । पार्टी फुटाएर हिड्नु भन्दा पनि पार्टीलाई जोडेर निकास दिनुनै अहिलेको उत्तम विकल्प रहेको उनको बताए । पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरुको भएको हुँदा त्यस अनुरुप आफूले बीचको बाटो समातेको उनले बताए ।






