काठमाडौँ ।
अमेरिकाले एकैदिन ८० जना नेपाली नागरिकलाई डिपोर्ट (देश निकाला) गरेको छ। मंगलबार एक चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो।
अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ७९ जना पुरुष र एक महिला छन्। उनीहरूलाई कागजात नभएको, गैरकानुनी रूपमा बसेको र अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा फिर्ता पठाइएको हो।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार डिपोर्ट हुनेमध्ये अधिकांश अवैध बाटो हुँदै अमेरिका पुगेकाहरू छन्। ब्यूरोका एसएसपी कृष्ण पंगेनीले उनीहरूमध्ये केहीले अमेरिका पुग्न दलाललाई डेढ करोड रुपैयाँसम्म बुझाएको बयान दिएको बताए।
ब्यूरोले फिर्ता भएकाहरूसँग सोधपुछ गरी परिवारको जिम्मा लगाएको छ र गैरकानुनी रूपमा पठाउनेहरूविरुद्ध उजुरी दिन आग्रह गरेको छ।