काठमाडौँ ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा संलग्न तेत्सुया यामागामीलाई नारा जिल्ला अदालतले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । न्यायाधीश शिनिची तनाकाले यो हत्यालाई जापानी इतिहासकै अभूतपूर्व र गम्भीर घटना भन्दै उक्त फैसला सुनाएका हुन् ।
जुलाई २०२२ मा चुनावी सभालाई सम्बोधन गरिरहेका आबेमाथि ४५ वर्षीय यामागामीले हस्तनिर्मित बन्दुकले गोली प्रहार गरी हत्या गरेका थिए । अभियोजन पक्षले यो हत्या पूर्वनियोजित रहेको र यामागामीले सन् २०२० देखि नै बन्दुक बनाउन थालेको प्रमाण पेस गरेको थियो ।
यामागामीले भने आफ्नी आमाको 'एकीकरण चर्च' प्रतिको अन्धभक्ति र ठूलो आर्थिक दानका कारण आफ्नो बाल्यकाल तहसनहस भएको र सोही चर्चसँग आबेको सम्बन्ध रहेकाले हत्या गरेको बयान दिएका थिए ।
यो घटनाले जापानको राजनीतिमा ठूलो तरंग ल्याएको थियो । हत्यापछि सत्तारुढ दल र उक्त चर्चबीचको सम्बन्ध उजागर हुँदा चार जना मन्त्रीले राजीनामा दिनुपरेको थियो । कडा बन्दुक नियन्त्रण कानुन भएको जापानमा यो घटनालाई सुरक्षा कमजोरीको रूपमा समेत हेरिएको छ ।