काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई गिरफ्तार गरेपछिको तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत अमेरिकी युद्धपोतमा रहेका मादुरोको तस्बिर सार्वजनिक गरेका हुन् ।
तस्बिरमा मादुरोले आँखामा मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका देखिन्छन् । तस्बिरसँगै ट्रम्पले लेखेका छन्, "निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा ।"
फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलामा शक्तिको शान्तिपूर्ण हस्तान्तरण नभएसम्म देश अमेरिकाले चलाउने घोषणा गरे । उनले अमेरिकी सेनाको कारबाहीमा भेनेजुएलाको सेना चाँडै पराजित भएको र कुनै पनि अमेरिकी सैनिक हताहत नभएको बताए ।
यसअघि शनिबार अमेरिकाले भेनेजुएलामा भीषण हवाई हमला गरी राष्ट्रपति मादुरो र उनकी पत्नीलाई उनीहरूकै शयनकक्षबाट पक्राउ गरेको थियो । अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले मादुरोविरुद्ध लागुऔषध-आतंकवाद, कोकिन आयात र हतियार तस्करी जस्ता गम्भीर अभियोगमा मुद्दा चलाइने बताएकी छन् ।
यसैबीच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति दम्पतीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण माग गरेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मादुरोलाई अर्को हप्ता म्यानहट्टनको अदालतमा उपस्थित गराइने सम्भावना छ ।