काठमाडौँ।
काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर-७२ विमान शुक्रबार राति अवतरणका क्रममा दुर्घटनामा परेको छ । भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज रनवेबाट करिब ३०० मिटर चिप्लिएर घाँसे मैदानमा भासिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, राति ९:१० बजे भएको उक्त दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन् । जहाजमा ५१ जना यात्रु र ५ जना चालक दलका सदस्य गरी कुल ५६ जना सवार थिए ।
दुर्घटनामा को-पाइलट ललितपुरका २४ वर्षीय सुशान्त श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ । उनको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना घाइते यात्रु भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनालगत्तै प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा खटिएको ७० जनाको प्रहरी टोलीले सबै यात्रुलाई सकुशल उद्धार गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।