काठमाडौँ।
स्विट्जरल्यान्डको एक प्रसिद्ध स्की रिसोर्टमा रहेको बारमा नयाँ वर्षको उत्सवका क्रममा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
घटना क्रान्स–मोन्टानास्थित 'ली कन्स्टेलिसन' नामक बारमा स्थानीय समयअनुसार बिहीबार बिहान करिब १:३० बजे भएको हो । नयाँ वर्षको पार्टीमा युवाहरूको ठूलो भीड रहेको बेला आगलागी भएको थियो ।
आगो निभाउन र उद्धारका लागि रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० जना आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । घाइतेहरूलाई सियोन, लोजान, ज्युरिख र जेनेभाका विभिन्न अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये धेरै जना जलेर गम्भीर अवस्थामा छन् ।
आगलागीमा विभिन्न देशका नागरिकहरू परेका छन् । इटालीले आफ्ना १६ नागरिक बेपत्ता भएको र फ्रान्सले ८ नागरिक बेपत्ता भएको जनाएको छ । मृतक र घाइतेहरूको पहिचान गर्न हप्तौँ लाग्न सक्ने बताइएको छ ।
अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेका छन् । चम्किने फ्लेयरसहितको स्याम्पेन बोतल वा बारको साँघुरो सिँढी जस्ता विषयमा अनुसन्धान केन्द्रित भए पनि हालसम्म केही पुष्टि भइसकेको छैन । पीडित परिवारको सहयोगका लागि हेल्पलाइन नम्बर समेत स्थापना गरिएको छ ।