काठमाडौँ ।
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णयमा विवादित बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई मन्त्रालयबाट हटाइएको छ । उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको हो ।
उनको स्थानमा राष्ट्रपति कार्यालयमा कार्यरत सचिव दीपक काफ्लेलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार, सचिव पुस्करले प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर स्वास्थ्य परीक्षण शुल्क प्रति कामदार तीन हजार रुपैयाँ बढाउने निर्णयमा हस्ताक्षर गराएको आरोप लागेको छ । मेडिकल व्यवसायीको स्वार्थमा लागेर निर्णय गराएको आरोपपछि उनलाई कारबाहीस्वरूप सरुवा गरिएको हो ।
गत कात्तिक २० गते भएको उक्त निर्णय विवादमा परेपछि मन्त्रालयले शुल्क वृद्धिको निर्णय खारेज गरिसकेको छ । साथै, यो निर्णय प्रक्रियामा सचिव पुस्करको भूमिकाबारे आन्तरिक छानबिनसमेत सुरु गरिएको छ ।