काठमाडौँ
चीनले ताइवान वरिपरि व्यापक सैन्य अभ्यास सुरु गरेको छ । “जस्टिस मिसन २०२५” नाम दिइएको यस अभ्यासमार्फत ताइवानका महत्वपूर्ण क्षेत्र कब्जा र नाकाबन्दीको अभ्यास गरिएको चिनियाँ सेनाले जनाएको छ । थलसेना, नौसेना, वायुसेना र रकेट फोर्स सहभागी यस अभ्यासमा प्रत्यक्ष गोली हान्ने (लाइभ–फायर) अभ्याससमेत समावेश छ । चीनले यसलाई ‘अलगाववादी शक्तिहरू’ विरुद्धको कडा चेतावनी भनेको छ ।
यो अभ्यास संयुक्त राज्य अमेरिका द्वारा ताइवानलाई करिब ११ अर्ब डलर बराबरको ठूलो हतियार प्याकेज बिक्री घोषणा भएको केही दिनमै सुरु भएको हो । उक्त निर्णयको चीनले तीव्र विरोध गर्दै अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्धसमेत लगाएको छ । ताइवानले यस वर्ष रक्षा क्षमता विस्तार गर्न थालेपछि बेइजिङ थप आक्रोशित बनेको छ, किनकि चीनले ताइवानलाई आफ्नो भूभागको रूपमा दाबी गर्दै आएको छ ।
ताइवानको राष्ट्रपति कार्यालयले चिनियाँ सैन्य अभ्यासलाई अन्तर्राष्ट्रिय मान्यतामाथिको चुनौती भनेको छ । ताइवानको रक्षा मन्त्रालयले सोमबार बिहानै चिनियाँ विमान र जहाजहरू ताइवान वरिपरि देखिएको पुष्टि गर्दै आफ्ना सुरक्षा बल र क्षेप्यास्त्र प्रणाली उच्च सतर्कतामा राखिएको जनाएको छ । “हामी ताइवान र जनताको सुरक्षाका लागि पूर्ण रूपमा तयार छौँ,” मन्त्रालयले जनाएको छ ।
चीनले ताइवानसँग ‘शान्तिपूर्ण पुनःएकीकरण’को कुरा गर्दै आए पनि आवश्यक परे “अशान्तिपूर्ण उपाय” अपनाउने कानुनी व्यवस्था रहेको बताउँदै आएको छ । बेइजिङले ताइवानका राष्ट्रपति लाई चिङ–तेमाथि स्वतन्त्रताको बाटो लिएको आरोप लगाएको छ भने राष्ट्रपति लाईले ताइवान पहिले नै सार्वभौम राष्ट्र भएकाले स्वतन्त्रता घोषणा आवश्यक नभएको दाबी गर्दै आएका छन् ।
पछिल्ला वर्षहरूमा चीनले ताइवान जलडमरूमध्यमा सैन्य गतिविधि तीव्र पारेको छ । सन् २०२२ यता अमेरिका र ताइवानसँग जोडिएका गतिविधिलाई कारण देखाउँदै चीनले पटक–पटक सैन्य अभ्यास गर्दै आएको छ । उता ताइवानले पनि आफ्ना रक्षा अभ्यास बढाएको छ । यसै सन्दर्भमा चीन–जापान सम्बन्ध पनि चिसिएको छ, किनकि जापानले ताइवानमाथि आक्रमण भए हस्तक्षेप हुन सक्ने संकेत दिएपछि बेइजिङले कडा आपत्ति जनाएको छ ।