काठमाडौँ
जापानको केन्द्रीय क्षेत्रमा पर्ने कान–एत्सु एक्सप्रेसवेमा करिब ५० सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । गुनमा प्रान्तको मिनाकामी क्षेत्रमा स्थानीय समय अनुसार डिसेम्बर २६ साँझ साढे सात बजे भएको उक्त दुर्घटनामा दुई ट्रक आपसमा ठोक्किएपछि ठूलो चेन प्रतिक्रिया सुरु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनापछि कम्तीमा १० वटा सवारीसाधनमा आगलागी भएको थियो । टोकियोकी ७७ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने जलेर नष्ट भएको ट्रकको चालक सिटमा अर्को शव फेला परेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र २१ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको समयमा भारी हिमपातको चेतावनी जारी गरिएको थियो । चिसो र बरफ जमेको सडकका कारण ट्रक चिप्लिएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । आगो निभाउन करिब साढे सात घण्टा लागेको थियो । घटनापछि राजमार्गको सो खण्ड बन्द गरिएको छ र जलेका सवारीसाधन हटाउने काम जारी छ । सडक सञ्चालन गर्ने कम्पनी नेक्स्कोले यात्रुहरूलाई उक्त राजमार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।